मेलम्ची: स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी सरोकारवालाबीच मेलम्चीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मेलम्ची नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को कार्यान्वयन, स्तनपानको महत्व र लागूऔषध नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले स्तनपान शिशुको अधिकार भएकाले यसको संरक्षण आवश्यक रहेको बताउँदै लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि घरबाटै अभियान सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले आमाको दूध शिशुका लागि सबैभन्दा सुरक्षित र पोषणयुक्त आहार भएको बताउँदै जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्न तथा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघ तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।







