काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका–७ का स्थायी बासिन्दा रमेशकुमार धिताल लेखामान बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई बोर्डको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो।
धितालको नियुक्तिसँगै लेखामान बोर्डले वित्तीय प्रतिवेदन, लेखामान मापदण्डको विकास तथा कार्यान्वयनका क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। लेखा तथा वित्तीय व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका धिताललाई बोर्डको नेतृत्वमा ल्याइएको सरकारले जनाएको छ।
यस नियुक्तिलाई सिन्धुपाल्चोकका लागि पनि गौरवको विषयका रूपमा हेरिएको छ। धिताल यसअघि विभिन्न सार्वजनिक निकाय तथा प्रशासनिक जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन्।







