भक्तपुर । बाह्रबिसे नगरपालिका र काठमाडौ मेडिकल कलेजबीच नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ।

सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका नागरिकले काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, नगरपालिकाबाट सिफारिस गरिएका अति विपन्न १० जना बिरामीलाई शतप्रतिशत निःशुल्क उपचार सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यो सम्झौताले आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। नगरवासीले विशेषज्ञ चिकित्सक तथा आधुनिक स्वास्थ्य सेवामा सहज पहुँच पाउने विश्वास लिइएको छ।
सम्झौता सम्पन्न भएपछि स्थानीय सरोकारवालाहरूले यसलाई जनहितमा गरिएको महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्। अस्पतालका अध्यक्ष तथा समाजसेवी डाक्टर सुनिल शर्माले सामाजिक उत्तरदायित्वअन्तर्गत बाह्रबिसेका नागरिकको स्वास्थ्य सेवामा गरेको यो योगदान सम्मानयोग्य भएको बाह्रबिसे नगरका प्रवक्ता बिमल पौडेलले बताए । यहि असारमसान्त भित्र बाह्रबिसे नगरबाट आउने बिरामीको लागि पचास प्रतिशत छुट हुनेछ भने आगामी चैत्र मसान्त सम्म २५ प्रतिशत छुट हुने छ । साथै बर्षमा एक पटक जटिल शल्यक्रिया सुबिधा सहितको टोली बाह्रबिसे नै गएर सेवा दिने पनि सहमति भएको छ ।
सम्झौता सफल बनाउन समन्वय तथा विशेष पहल गर्ने राममणी न्यौपाने प्रति पनि नगरपालिकाले धन्यवाद दिएको छ ।
नगरवासीको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको यस सम्झौताले बाह्रबिसेका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास गरिएको छ। स्थानीय तह र स्वास्थ्य संस्थाबीचको यस्तो सहकार्यले नागरिकहितका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






