काठमाडौं । नेपाली कृषि तथा पोल्ट्री व्यवसायमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सिन्धु पोल्ट्री प्रालिका प्रबन्ध निर्देशक कृष्णहरि अर्याल ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’बाट सम्मानित हुनुभएको छ।
कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अर्याललाई सम्मान प्रदान गर्नुभएको हो।
व्यावसायिक इमान्दारिता, प्रभावकारी नेतृत्व, गुणस्तरीय सेवा र संस्थागत विकासमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
सिन्धु पोल्ट्री प्रालिमार्फत अर्यालले व्यावसायिक अण्डा उत्पादनलाई विस्तार गर्दै स्वदेशी कृषि उद्यमको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको नेतृत्वमा सञ्चालित उद्योगले सयौँ युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथै देशको कृषि अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याएको छ।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आउनुभएका अर्याल विभिन्न सामाजिक तथा मानवीय अभियानमा सक्रिय रहनुभएको छ। कृषि उद्यमशीलता र समाजसेवामा निरन्तर सक्रियताकै कारण उहाँलाई प्रेरणादायी उद्यमीका रूपमा चिनिने गरिएको छ।
सम्मान ग्रहणपछि अर्यालले यो उपलब्धि आफ्नो एकल प्रयासको परिणाम नभई कर्मचारी, सहकर्मी र शुभेच्छुकहरूको साझा मेहनतको प्रतिफल भएको बताउँदै आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।







