काठमाडौँ : केही दिनयता निरन्तर सक्रिय रहेको मनसुनले आइतबार पनि देशका अधिकांश भूभाग भिजाउने संकेत दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर बदलीको अवस्था रहने र विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको हो ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपास रहेकाले पहाडदेखि तराईसम्म वर्षाको प्रभाव देखिनेछ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो र रातिको समयमा वर्षा थप सक्रिय हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीका पहाडी भूभाग र लुम्बिनीका केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी मौसमविद्हरूले दिएका छन् ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ । लगातारको वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो खस्ने तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
महाशाखाले विशेषगरी पहिरो प्रभावित क्षेत्र, नदी किनारका बस्ती र राजमार्ग प्रयोगकर्तालाई सावधानी अपनाउन अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।







