काठमाडौं : समस्याग्रस्त सहकारीमा लामो समयदेखि रोकिएको बचत फिर्ता गर्ने प्रक्रिया तीव्र पारिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा सहकारीका २२० जना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका १६५, कान्तिपुर सहकारीका ५२ र गोरखा सहकारीका ३ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्न थालेको हो । बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः अन्य बचतकर्ताको रकमसमेत फिर्ता गरिने समितिले जनाएको छ ।
समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमलाई बचतकर्ताको रकम फिर्तामा प्रयोग गरिएको समितिको भनाइ छ। सहकारी संस्थाबाट असुल भएको रकम सम्बन्धित संस्थाका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार वितरण गर्ने प्रक्रिया अघि बढाइएको हो ।
समितिका अनुसार समस्याग्रस्त सहकारीको ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा अन्य कानुनी प्रक्रियाबाट रकम जुटाउने र त्यसबाट बचतकर्ताको बचत फिर्ता गर्ने कार्य निरन्तर जारी रहनेछ ।
लामो समयदेखि आफ्नो बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणमध्ये पहिलो चरणमा साना बचतकर्ताले रकम पाएपछि सहकारी पीडितलाई राहतको संकेत देखिएको छ । अब अन्य बचतकर्ताले पनि आफ्नो रकम कहिले फिर्ता पाउने भन्ने विषय भने समितिको आगामी प्रक्रियामा निर्भर हुनेछ ।







