काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ५ लाख ५२ हजार ३०० रुपैयाँ नगद र ६३ वटा कौडा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउसो करिब १२ः३० बजे घरको दोस्रो तलामा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जुवा खेलिरहेको अवस्थामा फेला परेका उनीहरूलाई नगद र कौडासहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–१ का ३९ वर्षीय वीरबहादुर तामाङ, ४९ वर्षीय बुद्धिबहादुर तामाङ र २९ वर्षीय राजन तामाङ रहेका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भई काठमाडौंको गोकर्णमा बस्ने २८ वर्षीय समर तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–६ घर भई काठमाडौंको थली बस्ने ३४ वर्षीया बिब्की लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका घर भई काठमाडौंको माकलबारी बस्ने ३९ वर्षीय रवि थिङ र चौतारा घर भई काठमाडौंमा बस्ने ४० वर्षीय प्रबिन तामाङ पनि पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेकाहरूको विवरण तथा आपराधिक अभिलेख (सीआरएस) जाँच गर्ने क्रममा बिब्की लामा र रवि थिङ यसअघि पनि जुवासम्बन्धी गतिविधिमा संलग्न रहेको देखिएको प्रहरीले नाएको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन् ।







