सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बंशलाल तामाङ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिएका तामाङले १ हजार ८८४ मत प्राप्त गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

आदिवासी जनजाति कोटाबाट १२ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्थाअन्तर्गत ४१ जना प्रतिस्पर्धामा उत्रिएका थिए । कडा प्रतिस्पर्धाबीच सफलता हात पारेका तामाङको जितलाई सिन्धुपाल्चोक कांग्रेसका लागि केन्द्रीय तहमा प्रतिनिधित्व विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
तामाङका लागि यो जित विगतको पराजयलाई सफलतामा बदल्ने अवसरसमेत बनेको छ । उनी यसअघि कांग्रेसको १३औँ महाधिवेशनमा पनि आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए । तर, त्यतिबेला सफलता हात पार्न नसकेका उनले यसपटक भने केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आफ्नो राजनीतिक यात्रामा नयाँ उपलब्धि थपेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेका तामाङले १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनका क्रममा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत खुलातर्फको १० कोटामा ८११ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए । प्रतिनिधि चयनमा पाएको उक्त मतलाई पार्टीभित्र उनको बलियो जनाधारको संकेतका रूपमा हेरिएको थियो ।
स्थानीय तहको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका तामाङ तत्कालीन जिल्ला विकास समितिका सदस्यसमेत भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उनी गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारीमा समेत रहिसकेका छन्। स्थानीय सरकारको नेतृत्वदेखि पार्टी संगठनसम्म सक्रिय रहँदै आएका तामाङ अब कांग्रेसको केन्द्रीय तहमा पुगेका छन् ।
२०७२? होइन, २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक–२ मा उम्मेदवार बनेका तामाङ नेकपाका उम्मेदवार युवराज दुलालसँग पराजित भएका थिए । उक्त निर्वाचनपछि पार्टीभित्रैबाट असहयोग भएको आरोपसमेत सार्वजनिक भएको थियो । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगे पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुले उनको राजनीतिक यात्रालाई नयाँ मोड दिएको छ ।
सिन्धुपाल्चोक कांग्रेसमा लामो समयदेखि नेता मोहनबहादुर बस्नेतको प्रभाव रहँदै आएको छ । यस्तो राजनीतिक पृष्ठभूमिमा तामाङको केन्द्रीय सदस्यमा भएको विजयले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याएको छ । उनको जितले जिल्लाको कांग्रेस राजनीतिमा क्षेत्रीय प्रतिनिधित्व र नेतृत्वको समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासोसमेत बढाएको छ ।
१३औँ महाधिवेशनको पराजयदेखि प्रतिनिधिसभा निर्वाचनको हारसम्मका चुनौती पार गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका तामाङका लागि यो सफलता राजनीतिक पुनरागमनका रूपमा समेत हेरिएको छ ।






