गोरखा : पहिरोले थुनिएको बुढीगण्डकी नदी एक्कासि खुलेपछि आएको लेदो र गेग्रानसहितको बाढीले गोरखाको नदी तटीय क्षेत्रमा क्षति पुर्याएको छ । बाढीको जोखिम बढेसँगै नेपाली सेना उद्धारमा परिचालित भएको छ भने जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

नेपाली सेनाबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार आइतबार बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदीको अवरोध खुलेपछि अचानक बाढी आएको हो । लेदो तथा गेग्रानसहित आएको बाढीले नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
जोखिममा परेकाको उद्धारमा नेपाली सेना
बाढीको घटनापछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र बनाएको छ । सेनाको टोली हवाई तथा स्थलमार्गबाट घटनास्थलमा पुगेर प्रभावित क्षेत्रको निरीक्षण तथा अवस्थाबारे जानकारी संकलन गरिरहेको छ ।
यसक्रममा पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रेस्पोन्स टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह
बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि नदी तटीय तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै नेपाली सेनाले स्थानीय बासिन्दालाई उच्च र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
नदीको बहाव, लेदो तथा गेग्रानका कारण थप जोखिम हुन सक्ने भएकाले स्थानीयलाई नदी किनारमा नबस्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण तथा अन्य सम्भावित प्रभावितको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।






