काठमाडौं : चाडपर्वलाई लक्षित गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको यात्रु सुरक्षा अभियानअन्तर्गत मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने ३० जना चालक कारबाहीमा परेका छन् ।

उपत्यका ट्राफिक प्रहरीले असोज २५ गतेदेखि सुरु गरेको अभियानका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १८ जना र लागुपदार्थ सेवन गरी सवारी चलाउने १२ जना चालकलाई कारबाही गरेको हो ।
चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले सुरक्षित यात्रा सुनिश्चित गर्न कार्यालयले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। त्यस्तै, चारवटा नाकामा मापसे तथा लागुपदार्थ सेवन जाँचलाई तीव्रता दिइएको छ ।
जगाती, कलंकी र टिकाभैरव लगायतका नाकामा ट्राफिक प्रहरीले सवारी चालकको जाँच गरिरहेको छ। मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्दै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वमा यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।
प्रहरीले ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी नचलाउन र सुरक्षित यात्रामा ध्यान दिन सबै चालकलाई आग्रह गरेको छ ।






