काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती दुई दिन पछि सारिएको छ । यसअघि साउन २६ गते काठमाडौं अवतरण गर्ने कार्यक्रम रहे पनि अब उनी साउन २८ गते दिउँसो १२ः२५ बजे स्वदेश फर्किने भएका छन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार २६ गतेको उडानले देउवालाई रातिको समयमा काठमाडौं ल्याउने भएकाले नेता–कार्यकर्ताको सुझावपछि मिति परिवर्तन गरिएको हो ।
देउवाको आगमनलाई कांग्रेसले विशेष रूपमा स्वागत गर्ने तयारी गरेको छ । पार्टी नेता तथा कार्यकर्तालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरिएको छ ।
महतका अनुसार देउवा स्वदेश फर्किएलगत्तै विमानस्थलमै स्वागत कार्यक्रम हुनेछ । उनको आगमनसँगै कांग्रेसभित्र राजनीतिक भेटघाट र गतिविधि पनि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।







