सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्वसांसद माधव सापकोटाले बाह्रबिसे–तातोपानी सडक खण्डमा देखिएको समस्या सरकारी कमजोरीका कारण उत्पन्न भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सापकोटाले बाह्रबिसे–तातोपानी सडकमा पहिरो जाने र यातायात अवरुद्ध हुने समस्या पुरानो भए पनि यसपटक लामो समयसम्म सडक सञ्चालन हुन नसक्नु सरकारको गलत निर्णयको परिणाम भएको बताएका हुन् ।
उनका अनुसार नेपाल–चीन सहमतिअनुसार इको पहिरो व्यवस्थापनका लागि चीन सरकारले ‘लेटर अफ एक्सचेन्ज’ पठाइसकेको अवस्थामा सरकारले गत वर्ष ४८ करोड ४९ लाख रुपैयाँको ठेक्का हतारमा रद्द गरेको थियो । ठेक्का तोडिएपछि अहिले पहिरो व्यवस्थापनका लागि न नेपाली निर्माण कम्पनी सक्रिय रहेको छ, न चिनियाँ पक्ष काममा खटिएको छ ।
सापकोटाले वर्षायामअघि आवश्यक पूर्वतयारी गर्नुपर्ने समयमा भइरहेकै ठेक्का तोड्नु गम्भीर त्रुटि भएको दाबी गर्दै त्यसको असर अहिले तातोपानी नाका र अरनिको राजमार्गले भोगिरहेको बताए ।
उनले विगतमा संसद, मन्त्रालय, विभाग, सडक डिभिजन तथा निजी क्षेत्रबीच समन्वय गरेर वर्षायामअघि जोखिम न्यूनीकरणका लागि तयारी गरिने अभ्यास रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वले न पुरानो अनुभवको उपयोग गर्न सकेको न प्रभावकारी नयाँ व्यवस्थापन गर्न सकेको टिप्पणी गरे ।
सापकोटाले जोखिममा रहेका बस्तीहरूको संरक्षण गर्दै अवरुद्ध अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन राज्यका सम्पूर्ण साधन–स्रोत परिचालन गर्न सरकारसँग माग गरेका छन् ।







