काठमाडौं : प्रतिनिधि सभाले सोमबार तीन महत्वपूर्ण विधेयकलाई संसदीय प्रक्रियामा अघि बढाएको छ । अर्थ, कानुन तथा श्रम क्षेत्रसँग सम्बन्धित विधेयकहरू सदनमा प्रस्तुत भएसँगै अब तीमाथि विस्तृत छलफल र संशोधन प्रक्रिया सुरु हुने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गरेका हुन्। यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र युवा तथा श्रम मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे ।
तीनै मन्त्रीहरूले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदबाट विरोधको सूचना दर्ता नभएपछि सभामुखले विधेयकहरू सदनमा प्रस्तुत गर्न अनुमति दिएका थिए ।
विधेयकहरू संसद्मा दर्ता भएसँगै अब सांसदहरूबीच सैद्धान्तिक छलफल हुनेछ । त्यसपछि सम्बन्धित समितिमा पठाइने र आवश्यक संशोधन तथा परिमार्जनको प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।
संसद्मा प्रवेश गरेका यी विधेयकहरू कर्मचारी सञ्चय कोषको व्यवस्थापन, मेलमिलाप प्रणालीको प्रभावकारिता तथा बालश्रम नियन्त्रणसँग सम्बन्धित कानुनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्यका साथ ल्याइएको मानिएको छ ।







