सिन्धुपाल्चोक : ‘अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने नारासहित सिन्धुपाल्चोकमा सामुदायिक वन दिवस २०८३ मनाइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका–११ पाथीभरास्थित जनविकास माध्यमिक विद्यालयमा दिवस मनाइएको हो । दिवसको अवसरमा ‘सबल हरित अर्थतन्त्रका लागि युवा सहभागिता र दिगो व्यवस्थापनमा स्थानीय सरकारको प्रतिबद्धता’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
नगरपालिकाका २४ माध्यमिक विद्यालयमध्ये १२ विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कृष्ण रत्नगंगा माध्यमिक विद्यालयकी समृद्धि खड्का प्रथम भइन् । सेतीदेवी माध्यमिक विद्यालयकी रेनुका तामाङ दोस्रो, जुगल बोर्डिङ स्कुलकी रिति घले तेस्रो तथा जनविकास माध्यमिक विद्यालयकी विनुशा पराजुली सान्त्वना भइन् ।
कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटा, वडा अध्यक्ष रोशनराज गिरी, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय महासचिव पार्वता गौतम, डिभिजन वन कार्यालयका प्रमुख ओमसागर भण्डारीलगायतको उपस्थिति थियो ।
सो अवसरमा जिल्लाको उत्कृष्ट सामुदायिक वनका रूपमा चौतारा साँगाचोकगढी–९ स्थित तालकोट रानीपोखरी सामुदायिक वनलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।







