काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको आरोपमा मन्त्रालयको निगरानीमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउतलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाको कार्यालयमा सेवा लिन पुगेका एक ज्येष्ठ नागरिकसँग प्रमुख प्रशासकीय अधिकृत राउतले अमर्यादित व्यवहार गरेको भन्दै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिकस्तरबाट मन्त्रालयमा व्यापक गुनासो पुगेपछि मन्त्रालयले औपचारिक रूपमा स्पष्टीकरण मागेको हो ।
मन्त्रालयले सार्वजनिक पदमा रहेका कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक र जिम्मेवार व्यवहार गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकप्रति गरिएको भनिएको व्यवहारबारे गम्भीर चासो व्यक्त गरेको छ। मन्त्रालयले पत्रमार्फत राउतलाई किन त्यस्तो व्यवहार गरियो भन्ने विषयमा लिखित जवाफ दिन निर्देशन दिएको छ ।
सार्वजनिक सेवामा खटिएका कर्मचारीबाट सेवाग्राही, विशेषगरी ज्येष्ठ नागरिकप्रति हुने व्यवहारलाई सरकारले संवेदनशील विषयका रूपमा लिएको भन्दै मन्त्रालयले आवश्यक परे थप छानबिन तथा कानुनी प्रक्रिया अघि बढाउन सकिने संकेत दिएको छ ।
घटनापछि बलेफी गाउँपालिका र प्रमुख प्रशासकीय अधिकृत राउतको भूमिकामाथि स्थानीयस्तरमा समेत व्यापक चर्चा सुरु भएको छ । मन्त्रालयको निर्देशनपछि अब राउतले पेश गर्ने स्पष्टीकरणका आधारमा थप निर्णय हुने जनाइएको छ ।







