रौतहट : लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता रहेकी छन्।

मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बेपत्तामध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव बुधबार बिहान फेला परेको हो ।
स्थानीयवासीले नदीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको थियो ।
घटनामा बेपत्ता भएकी अर्की एक बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले नदी आसपासका क्षेत्रमा खोजीलाई तीव्रता दिएका छन् ।





