काठमाडौं : सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै दुवै सचिवले पदबाट राजीनामा दिएको विषय सार्वजनिक भएको छ । सचिव पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत थिए भने सचिव अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।
निजामती किताबखानाको अभिलेखअनुसार सचिव अधिकारी आगामी ४ भदौमा अनिवार्य अवकाशमा जाने तयारीमा थिए । अवकाश हुन एक साताअघि नै उनले पदबाट राजीनामा दिएका हुन् ।
अर्का सचिव पोखरेलको भने अझै एक वर्षभन्दा बढी कार्यकाल बाँकी थियो । अभिलेखअनुसार उनी २३ भदौ २०८४ सम्म सचिव पदमा बहाल रहने व्यवस्था थियो। कार्यकाल बाँकी रहँदाहुँदै उनले राजीनामा दिएपछि प्रशासनिक वृत्तमा त्यसलाई चासोका साथ हेरिएको छ ।
सरकारले दुवै सचिवको राजीनामा स्वीकृत गरे पनि राजीनामाको कारणबारे औपचारिक जानकारी दिएको छैन। मन्त्रिपरिषद्को निर्णयपछि दुवै पद रिक्त हुने भएकाले ती स्थानमा नयाँ सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।







