काठमाडौं: स्थानीय तहको न्यायिक अभ्यासलाई केन्द्रमा राखेर तयार गरिएको ‘न्यायिक समितिको सारथी’ पुस्तकले यस वर्षको उत्कृष्ट कानुनी पुस्तकको सम्मान प्राप्त गरेको छ ।
नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अधिवक्ताद्वय उद्धव प्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित उक्त पुस्तकलाई आर्थिक वर्ष २०८२/८३ मा कानुन तथा न्याय क्षेत्रमा प्रकाशित कृतिमध्ये उत्कृष्ट ठहर गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लेखकद्वयलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरे । परिषद्का अनुसार पुस्तकले स्थानीय तहका न्यायिक समितिको कार्यसम्पादन, विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई व्यवहारिक र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।
संघीय शासन प्रणाली लागू भएपछि स्थानीय तहलाई प्राप्त न्यायिक अधिकारको प्रभावकारी प्रयोगलाई सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको पुस्तकमा न्यायिक समितिको अधिकारक्षेत्र, उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप, निर्णय लेखन, कार्यान्वयन र अभिलेख व्यवस्थापनका विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधि, कानुन अधिकृत, कर्मचारी, मेलमिलापकर्ता तथा कानुनका विद्यार्थीका लागि उपयोगी मानिएको पुस्तकलाई स्थानीय न्यायिक अभ्यासको व्यवहारिक मार्गदर्शकका रूपमा समेत हेरिएको छ ।
सम्मानपछि लेखकद्वयले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक ज्ञान, प्रक्रिया र अभ्यासलाई एउटै सन्दर्भ सामग्रीमा समेट्ने प्रयासस्वरूप पुस्तक तयार गरिएको बताएका छन् । उनीहरूले स्थानीय तहमा न्याय सम्पादनका क्रममा देखिने व्यवहारिक चुनौतीलाई सम्बोधन गर्न पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कानुनी अध्ययन, अनुसन्धान र प्रकाशनलाई प्रोत्साहन गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको छ । यस वर्ष ‘न्यायिक समितिको सारथी’ले प्राप्त गरेको सम्मानलाई स्थानीय न्याय र मेलमिलाप क्षेत्रको अध्ययन तथा लेखनले पाएको महत्वपूर्ण मान्यताका रूपमा हेरिएको छ ।







