काठमाडौं : सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई लक्षित गर्दै गरिएको टिप्पणी र व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा प्रहरी नेतृत्वमाथि भएको व्यवहार स्वीकार्य नभएको बताएका हुन्। उनले ‘वी आर नट ह्याप्पी’ भन्दै सरकार त्यस घटनाप्रति सन्तुष्ट नरहेको स्पष्ट पारे ।
गत बुधबार सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन सुरक्षासम्बन्धी पोशाक तथा अन्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्ने उजुरीमाथि छलफल भएको थियो । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए ।
छलफलका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारले पोशाक खरिद प्रकरणमा संलग्न भएको आशंकामा तत्कालीन गृहमन्त्री, पूर्व एपीएफ प्रमुख, गृहसचिव र आईजीपीमाथि नै छानबिन हुनुपर्ने धारणा राखेका थिए । उनले गृहसचिव र आईजीपीले नैतिकताको आधारमा पद छाड्नुपर्ने तथा आवश्यक परे बर्खास्त गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
सुनारको अभिव्यक्तिले बैठकमै विवाद सिर्जना गरेको थियो। केही सांसदहरूले उनको शैलीमाथि आपत्ति जनाएका थिए भने शुक्रबार गृहमन्त्री गुरुङले पनि त्यसप्रति असन्तुष्टि प्रकट गरे ।
गुरुङले आरोप लाग्दैमा कसैलाई दोषी घोषणा गर्न नहुने भन्दै निष्पक्ष अनुसन्धानबाट तथ्य स्थापित भएपछि मात्र निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।
‘आरोप लाग्नु एउटा कुरा हो, तर प्रमाणित नै नभएको विषयलाई पुष्टि भइसकेको जस्तो प्रस्तुत गर्नु उचित हुँदैन,’ गृहमन्त्री गुरुङको भनाइ थियो।







