चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख र कर्मचारीले अघिल्लो आर्थिक वर्षको भत्ता पनि ऐननियमविपरीत लिएको खुलासा भएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नगरप्रमुख कृष्णप्रसाद सापकोटा, कार्यकारी अधिकृत रामबहादुर केसीलगायतका कर्मचारीले अघिल्ला आर्थिक वर्षको भत्ता बुझेको देखाइएको छ । सो भत्ता पनि प्रमाण नभइ लिएको कारण असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले २२ हजार ७ सय रुपैयाँ,प्रमुख प्रशासनिक अधिकृत रामबहादुर केसीले लाई १९ हजार ५ सय ५० रुपैयाँ अवैध रुपमा बुझेको प्रतिवेदनमा उल्लेख छ । शिवबहादुर पुरी, दिनेश नेपाल र गोमा भट्टराई पनि यसरी भत्ता बुझ्ने लिष्टमा छन् ।
चालु प्रकृतिका खर्चहरू जुन आर्थिक वर्षमा खर्च भएको हो सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने नियम हुन्छ । तर, उनीहरूले अघिल्लो आर्थिक वर्षको रकमसमेत भत्ताको नाममा हजम पारेको उल्लेख छ । महालेखाले यसलाई प्रमाण नै पेश नगरेर खाएको कारण अवैध भएको जनाएको छ ।







