सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिकामा निर्माण हुने जलबिद्युत आयोजनाका बिषयमा स्थानीयवासी र लगानीकर्ताबीच फरक फरक धारणा आएको छ । आज भएको दुईपक्षको सुनुवाई कार्यक्रममा दुईखाले धारणा आएको हो ।
बाह्रबिसे ८ र ९ मा निर्माणाधीन ४६ मेगावाट क्षमताको जलविद्युत् आयोजनालाई लिएर स्थानीयवासीले वातावरण संरक्षणका सवालमा चासो राख्दै “कालिका फर्कनैपर्छ, प्रकृति जोगाउनकै लागि” भन्ने माग पनि राखेका थिए ।
स्थानीय सरोकारवालाहरूले आयोजनाको फाइदा भन्दा बढी असर देखापर्ने हो भने जनप्रतिनिधिहरूले नै त्यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् । कपनीका अध्यक्ष मोहन विक्रम कार्कीका अनुसार आयोजना बन्न दिने वा नदिने विषयमा स्थानीय तहका जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ । ‘निर्णय गर्ने अधिकार र जिम्मेवारी दुवै जनप्रतिनिधिकै हो’ उनले बताए ।
आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि शेयर वितरण गर्ने योजना बनाएको अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिए । सो मध्ये १० प्रतिशत शेयर प्रभावित स्थानीयवासीलाई दिने घोषणा गरिएको छ ।
इन्जिनियरिङ पक्षअनुसार सुरुङ निर्माणमा ठूलो खर्च हुने छ । कुल ५ हजार ७ सय मिटर लामो सुरुङ्ग बनाउनुपर्ने आयोजनामा १ हजार ३ सय मिटर खोला क्रसिङ र १ हजार ४ सय मिटर माथिल्लो भाग पार गर्नुपर्नेछ ।
आयोजनाबाट २० प्रतिशत पानी खोला नै बग्ने गरी छाडिने जनाइएको छ । साथै पानीको बहाव र बस्ती सुरक्षाका लागि ३ वटा चेक ड्याम निर्माण गरिने योजना छ ।यस बिषयमा आज बाह्रविसे नगरपालिकाको हलमा सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा बाह्रबिसेका प्रमुख बालकृष्ण बस्नेतले आयोजना निर्माण हुनु पर्ने र स्थानीय जनताको माग पुरा गर्न कुनै कसर बाँकी राख्न नहुने बताए । नेपाल सरकारले आयोजना निर्माणका लागि अनुमति दिईसकेको कारण जनप्रतिनिधिले सहयोग गर्नुको विकल्प नरहे पनि स्थानीय क्षतिका बारेमा सधैँ चनाखो रहने बताए । आफू जनताको प्रतिनिधि भएका कारण स्थानीयको क्षतिमा सधैँ सँगै रहने बचन व्यक्त गरे ।
यता, सरोकारवालाहरूले आयोजनाले स्थानीयलाई प्रत्यक्ष लाभ दिलाउनुपर्ने र वातावरणीय प्रभाव न्यून पार्नुपर्ने माग गरेका छन् । प्रदीप पौडेलका शब्दमा, ‘प्रकृति जोगाउनकै लागि कालिका फर्कनैपर्छ, नत्र लाभभन्दा हानी बढी हुन्छ ।’






