सिन्धुपाल्चोक ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, अपांगता भएका व्यक्ति, ६० वर्ष माथिका जेष्ठ नागरिक, दलित, जनयुद्धका घाइते तथा माझी समुदायलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरे पनि कार्यान्वयनमा ढिलासुस्ती हुँदा सर्वसाधारण निराश बनेका छन्।
नगरपालिकाले ‘समयमै स्वास्थ्य बीमा गरौँ, आर्थिक जोखिम कम गरौँ’ भन्ने नारा दिँदै सबै वडामा दर्ता सहायकमार्फत कागजात संकलन गरी भदौ १ गतेदेखि कार्यक्रम लागू हुने जानकारी दिएको थियो। तर, आजैदेखि बिरामी लिएर अस्पताल पुगेका नागरिकलाई बीमा कार्ड ‘क्रियाशील छैन’ भन्दै सेवा लिन नदिँदा आक्रोश चुलिएको छ।
बीमा बोर्डलाई नगरपालिकाले भुक्तानी रकम समयमै नदिँदा यस्तो अवस्था सिर्जना भएको दर्ता सहायकहरूले बताएका छन्। उनीहरूको भनाइमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको छ। यस कारण करिब ६ सय घरधुरीका झण्डै ३ हजार नागरिक निःशुल्क स्वास्थ्य बीमाको सुविधा लिनबाट वञ्चित भएका छन्।
बीमा गर्न पैसा तिरेका सेवाग्राहीसमेत तत्काल सेवा लिन नसक्दा थप निराशा बढेको छ। “जनताको करबाट भत्ता बुझ्ने जनप्रतिनिधिले आफ्नै निर्णय पालना नगर्दा सर्वसाधारण ठगिएका छन्, यसको जवाफ कसले दिने ?” भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
सुरुवाती दिनमै देखिएको समस्याले भोलिदेखि असन्तुष्ट हुने सेवाग्राहीको संख्या झन् बढ्ने अनुमान गरिएको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस प्रकारको गैरजिम्मेवारीताले नगरपालिकाको विश्वसनीयतामै प्रश्न उठेको छ।






