मेलम्ची ।

बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु भएको छ। मेलम्ची नगरपालिकाको समन्वयमा रिड नेपालले तालिमको आयोजना गरेको हो।
तालिमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले समयअनुसार शिक्षण विधि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ प्रविधि र पद्धतिबाट बालबालिकालाई सिकाउन आग्रह गरे । उनले बालबालिकाको इच्छा र रुचिअनुसार सिकाइ अघि बढाउनुपर्नेमा जोड दिए । साथै, शिक्षक, विद्यार्थी र अभिभावक सबैले गुणस्तरीय शिक्षाको वातावरण बनाउन योगदान पुर्याउनुपर्ने बताए ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत बिज्ञ योगबहादुर थापाले नगरले शिक्षा क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गर्दै संस्थासँगको सहकार्यमा बालबालिकामाथि हुने दुव्र्यवहार अन्त्य गर्न सहयोग भइरहेको जानकारी दिनुभयो। उहाँले तालिमपछि सिकाइको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
संस्थाकी परियोजना संयोजक शोभा सुवेदीले एक वर्ष अघि सञ्चालन गरिएको तालिमको प्रभावकारितासमेत मूल्याङ्कन हुने जानकारी दिइन । उनका अनुसार विद्यालयमा बाल संरक्षण तथा सुरक्षा सुनिश्चितताका लागि निर्माण गरिएका नीति–नियम र त्यसको कार्यान्वयनमा शिक्षकको भुमिकाबारे छलफल हुनेछ।
संस्थाकी वातावरण अधिकृत शुसिला कंडेलका अनुसार तालिममा मेलम्चीका १८ जना शिक्षक सहभागी छन्। तालिमको सहजीकरण संस्थाकी सेफगर्ड अफिसर लक्ष्मी श्रेष्ठले गर्छिन ।






