बाह्रबिसे ।

बाह्रबिसे नगरपालिकाको खर्चको अघिल्लो साल बाह्रबिसेमा तीज कार्यक्रममा रमझम गरिएको थियो । फेरि यस पाली पनि नगरपालिकाकै खर्चमा काठमाडौंबाट कलाकारदेखि हरेक सामान लगेर बाह्रबिसे नगरले उधुम गर्दै छ ।
उल्फाको धन फुपुको श्राद्ध भनेझैँ नगरपालिकाको आन्तरिक स्रोत बाट लाखौ रुपैयाँ सकेर जात्रा गर्न थालेको हो । त्यसका लागि काठमाडौँबाट ज्योति मगरदेखि धेरै कलाकारलाई तीजको नाममा बाह्रबिसे लैजाने भन्दै नगरपालिकाले पोष्टर छापेको छ ।
सांस्कृतिक परम्परालाई जगेर्ना गर्न स्थानीय सरकारले रमझममा सहयोग गर्न सक्ने भएपनि लाखौँ रुपैयाँ खर्च गरेर मञ्च निर्माण गर्दै राजनीतिक स्वार्थ पूरा गर्न आवश्यक नरहेको धेरै प्रतिकृया आएको छ । देउताको मन्दिरमा बसेर दुःख सुखको गीत गाउने तीजलाई छाडा गीत गाउने कलाकार प्रयोग गरेर तामझाम गर्नु अख्तियारको दुरुपयोग हुने जानकारहरू बताउँछन् ।
अघिल्लो सालमा नगरपालिकाको दशौं लाख खर्च भएको रकम अहिले पनि बेरुजु छ । फेरिपनि यस्तै कार्यक्रम गर्न राम्रो नहुने भन्दै केही जनप्रतिनिधिले भनेपनि नगरप्रमुख बालकृष्ण बस्नेतले निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई भाषण गर्ने थलो बनाउने यो प्रपञ्च रचेको बाह्रबिसेका एक वडाअध्यक्षले बताए ।






