फेरि एक जना जनप्रतिनिधिले साउन २५ गते देश छाडिन् र, घरजम गर्न अमेरिकाको कनेक्टिकटस्थित ब्रान्फोर्ड पुगिन्।उच्च शिक्षा हासिल गर्न सिन्धुपाल्चोकदेखि काठमाडौँ आएकी सीता थापा, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा पढ्दै गर्दा एमाले अखिलको सम्पर्कमा आइन् । र, केन्द्रीय सचिवालय सदस्यसम्म भइन् ।

२०७४ सालमा चौतारा साँगाचोकगढी नपामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनिन् र माओवादीकी जानुका पराजुलीसँग १३६६ मतान्तरले पराजित भइन् । २०७८ मा अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा स्वकीय सचिव थिइन् ।
२०७९ को स्थानीय निर्वाचनमा माओवादी र समाजवादीका तर्फबाट चौतारा साँगाचोकगढी नपाकी एमाले उम्मेदवार बालकुमारी सापकोटालाई २८४९ मतले पछि पार्दै उपमेयरमा निर्वाचित भइन् । उपमेयर हुनुअघि ‘सिताके च्याउ’ उत्पादन गर्थिन् ।
अहिले लामो समयदेखि अमेरिकामा बस्दै आएका एमालेकै पुराना नेता रामचन्द्र श्रेष्ठसँग वैवाहिक नाता जोडेकी छन् । श्रेष्ठ चौतारा बजारका रैथाने हुन् भने थापा साविक साँगाचोक गाविसकी । कुनै बेला थापासँग एनजिओमा सहकार्य गरेका एक सहकर्मीका अनुसार, वैशाखमै उनीहरुले अदालती विवाह गरेका थिए ।
सो को जानकारी केहीलाई मात्र थियो । असार ३२ गते पलाञ्चोक भगवती मन्दिर काभ्रेपलाञ्चोकमा परिवारका केही सीमित सदस्यहरूबीच औपचारिक रूपमा सिन्दुरपोते गरेका हुन् । दुई वर्षअघि पहिलो श्रीमतीको निधन भएपछि श्रेष्ठ पीडामा थिए । एमालेका नेताहरूले गत सालदेखि नै विवाह गर्न जोडबल लगाए । उनी राजी भएपछि पटकपटकको कुराकानी र भेटघाटबाट दुवै जना विवाह गर्न राजी भएको बुझिएको छ ।
एमाले नेताहरू अमेरिका जाँदा श्रेष्ठको घरमा बस्ने गरेको उनी निकटले जानकारी दिए । एमाले अध्यक्ष केपी ओलीसमेत एक रात बसेका छन् । ओलीले नेपाल फर्किएर सक्रिय राजनीतिमा आउन आग्रह गर्दै निर्वाचनमा टिकटसमेत दिने बताएका थिए । जिल्लाका एक नेताका अनुसार २०८४ पछि सीता थापा अमेरिकामा सेटल हुने या रामचन्द्र श्रेष्ठ यतै आएर सक्रिय राजनीति गर्ने भन्ने टुंगो छैन । केही दिनमा नै टुंगोमा पुग्न सक्ने स्रोतले जानकारी दिएको छ ।
सीता थापा निकट स्रोतका अनुसार नवदम्पतीले काठमाडौंको कोटेश्वरमा आकर्षक घर खरिद गरेको छ । घर नै खरिद गरिसकेको अवस्थामा नवजोडी नेपाल फर्कन सक्ने आकलनसमेत गरिएको छ । यसबीच, नेपालका थुप्रै गाउँपालिकास्तरीय जनप्रतिनिधि विदेश भासिएको अवस्था छ ।
- जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकबाट साभार –






