काठमाडौँ ।
अख्तियारको पहुँच देखाउँदै व्यापारीहरूसँग रकम असुल गर्ने राजस्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारीको अवैध काम थप खुलासा भएको छ ।

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसँग प्रत्यक्ष पहुँच भएको भन्दै अधिकारीले असुल्ने गरेको एक व्यवसायीले बताए । राईको साली नाता पर्ने व्यक्ति भन्दै अधिकारीले व्यवसायीलाई चिनाउने पनि गरेका छन् । उनैमार्फत व्यवसायीलाई फसाउने र रकम उठाउने काम चलिरहेको छ ।
व्यवसायीहरूका अनुसार अख्तियार पनि आफ्नै हो भन्दै रकम असुल गरिँदै आएको छ । जागिरे जीवनको छोटो अवधिमा काठमाडौँमा बंगला खरिद गर्नुले पनि यसको पुष्टि गरेको छ । प्राप्त घरको फोटो अनुसार यसको लागत महंगो नै पर्ने देखिन्छ ।
अधिकारीले रकम उठाउँदा प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवरसँग नजिकको सम्बन्ध रहेको भन्दै धाक देखाउने गरिएको व्यवसायीहरूको आरोप छ ।
राजस्व प्रशासनका संवेदनशील अड्डाहरूमा मात्रै काम गर्दै आएका अधिकारी हाल राजस्व अनुसन्धान विभागमा निर्देशकका रूपमा कार्यरत छन् । छोटो अवधिमै राजधानीमा घरजग्गा किनेर विलासी जीवनशैली देखाउनु नै असुलीको प्रत्यक्ष प्रमाण भएको व्यवसायीहरू बताउँछन् ।
लोकसेवा तयारी कक्षा सञ्चालन गरेरै आम्दानी गर्छु भन्ने प्रचार गर्ने अधिकारीले वास्तविकतामा व्यापारीसँग उठबस गरेर पैसा असुल्ने गरेको आरोप छ ।
यसरी अख्तियारजस्तो संवेदनशील निकायको नाममा चलाइने असुलीले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामै शङ्का उत्पन्न भएको छ । व्यवसायीहरूले तत्काल यस्ता असुली कार्यमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
२०७९ साउन १७ गतेदेखि विभागमा मस्ती गरिरहेका अधिकारी यहाँ कार्यरत हुँदा ६ जना महानिर्देशक फेरिएका छन् । उनलाई पनि कसैले पनि हटाउन सकेका छैनन् । सामान्यतया एउटा कार्यालयमा दुई वर्ष एकजना कर्मचारी बस्न पाउँछन् । आर्थिक चलखेल हुने विभागमा लामोसमय बस्नु नै नियतमा खोट देखिन्छ ।
हरेक महानिर्देशकले उनलाई आफ्नै ‘विश्वासिलो पात्र’ बनाएर व्यवसायीसँग उठाउने रकममा परिचालन गरेको चर्चा छ । अहिलेका महानिर्देशकले पनि उनैलाई प्रयोग गर्न थालेको चर्चा छ ।
साविक गण्डकी अञ्चल घर भएका अधिकारी (कर्मचारी संकेत नम्बर २०५०९३) प्रारम्भमा जिल्ला अदालतमा डिठ्ठा भएर सरकारी सेवामा प्रवेश गरेका थिए । अर्थ मन्त्रालयमा प्रवेश गरेयता उनी कहिल्यै ‘कमजोर अड्डा’मा बस्नुपरेको छैन । त्रिभुवन विमानस्थल भन्सार, न्यूरोड आन्तरिक राजस्व, लाजिम्पाटस्थित आन्तरिक राजस्व कार्यालयदेखि पश्चिमाञ्चल क्षेत्रीय राजस्व अनुसन्धानसम्म उनको नाम अकुत आर्जन गर्ने कर्मचारीको सूचीमा बारम्बार जोडिन्छ ।
राजधानीको कोटेश्वर नजिक करोडौँ मूल्यको बंगला खरिद गरेको चर्चा सार्वजनिक भएपछि अधिकारीको सम्पत्तिबारे प्रश्न झन् तीव्र बनेको छ । व्यवसायीहरूसँग मासिक रकम असुल्ने, पत्रकारलाई पाल्ने, भित्रि सूचना चुहाउनेदेखि प्रधानमन्त्री कार्यालयसम्म पैसा लैजानुपर्ने भन्दै धम्की दिने शैलीसमेत उनको कार्यशैलीसँग जोडिन्छ ।
हालै चर्चामा आएको भेप काण्डमा मुद्धा खेपिरहेका शिल्क कम्पनीका मालिक रमेश शेर्पासँगको साँठगाँठसमेत अधिकारीमाथि लागेको अर्को गम्भीर आरोप हो । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘अधिकारीले सहसचिव चुडामणि शर्माकै शैलीमा अकुत सम्पत्ति आर्जन गरेका छन् ।’






