चौतारा साँगाचोक गढी नगरपालिकाले आवश्यक पर्ने सम्पूर्ण सामान काठमाडौंका पसलबाट ल्याउन थालेपछी स्थानीयले व्यवसाय कर नतिर्ने भन्दै सार्वजनिक अपिल गर्न थालेका छन् । नगरपालिकाले प्रत्येक व्यवसायीलाई पत्र नै लेखेरै कर तिर्न अनुरोध गरेको छ । सोको लागि मिति नै तोकेर बैठक आह्वान गरेपछि सो पत्र सामाजिक सञ्जालमा राखेर स्थानीय व्यवसायीले सार्वजनिक आह्वान गरेका हुन् ।

चौताराका राकेश श्रेष्ठ नाम लेखिएको फेसबुकमा नगरपालिकाको पत्र शेयर गर्दै कर अवज्ञा गर्ने लेखिएको छ । नगरपालिकालाई आवश्यक पर्ने कलमसमेत स्थानीय स्टेशनरीमा नकिनेर काठमाडौँमा किनेको भन्दै उनले कर पनि उतै सङ्कलन गर्न भनेका छन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पनि काठमाडौँमा खरिद गरेको स्टेसनरी बिल चर्को मूल्यका छन् ।
नेपाल सरकारलाई कर तिर्ने तर, नगरपालिकालाई कर नतिर्ने उनको भनाई छ । सोही फेसबुक पेजमा अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता रघु तामाङले कर तिरेबापत पाउने सुविधा पनि स्पष्ट हुनुपर्ने प्रतिकृया दिएका छन् ।






