काठमाडौं । प्रहरीले काठमाडौंमा नक्कली कागजात बनाउने ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले दिएको जानकारीअनुसार अञ्जल लामिछानेले सञ्चालन गरेको इजी सुप नामक कार्यशालाबाट एसईई प्रमाणपत्र , प्रहरी प्रतिवेदन, विभिन्न होटल तथा संस्थाले जारी गरेको अनुभवपत्र लगायतका नक्कली कागजातहरू फेला परेको हो।
प्रहरीले छापा मार्दा कार्यशालामा प्रयोग भइरहेका कम्प्युटर सेटसहित नक्कली कागजात बरामद गरेको छ। पक्राउ परेकाहरूलाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला अदालतको आदेशअनुसार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं महानगरपालिका–३ बस्ने ४५ वर्षीय अञ्जल लामिछाने, धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम,र २९ वर्षीय सविन आले मगर रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवम् सूचना अधिकारी अमृत राज बोहाराले पक्राउ परेकाविरुद्ध आवश्यक कानूनी कारबाही अघि बढाइएको जानकारी दिए ।






