काठमाडौं ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा चक्रवर्ती कण्ठको पिएको जिम्मेवारीमा रहेकी बरिष्ठ सहायक उषा राईले कार्यालयभित्र हैरान बनाउने शैली अपनाएको भन्दै कर्मचारी र सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।
हाकिमकै नामको नम्बरसमेत उनैले बोकेर कर्मचारीलाई हैरान पारेको एक कर्मचारीले बताए । भेट्न आउनेलाई घण्टौँ कुराउने, फाइल तथा बिल रोक्ने, निर्माण ठेक्का सम्बन्धी कागजात ढिलाइ गर्ने, बिल तथा महत्वपूर्ण कागजात हराउने जस्ता गतिविधि गर्दै आएकी गुनासो छ । यस्तै, कार्यालयमा मागअनुसार सामग्री उपलब्ध गराउनुपर्नेमा अनावश्यक कटौती गर्ने, असम्बन्धित शाखामा चिठी तोक्ने जस्ता कार्यले पनि कार्य सम्पादनमा अवरोध भएको कर्मचारीहरू बताउँछन् ।
भेट्न जानेलाई हाकिमको नाममा रोक्ने मात्र नभई, फाइल व्यवस्थापन र सामग्री वितरणमा समेत पिएकै नियन्त्रण रहेको छ । ‘हाकिम नै उषा हुन् कि कण्ठ, छुट्याउन गाह्रो हुने अवस्था बनेको छ,’ एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने ।
त्यस्तै, सचिवालयको सवारीसाधनसमेत विवादमा परेको छ । गाडी चढेर सुनाकोठिसम्म जाने गरेको उक्त गाडी पनि पटक–पटक बिग्रिने, मर्मतमा अत्यधिक खर्च हुने र पेट्रोल अत्यधिक खपत हुने विषयमा पनि प्रश्न उठेको छ ।






