सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफीस्थित अरनिको राजमार्गमा दुध संकलन गर्ने मिनि डेलिभरी भ्यान भोटेकोशी नदीमा खसेको छ।

जिल्ला काभ्रेको पनौती नगरपालिका–१० पस्थली बस्ने करिब २२/२३ वर्षका नबराज खुलालले चलाएको बा १२ च ६५९४ नम्बरको मारुती मिनि डेलिभरी भ्यान सोमबार बिहान करिब ५ः२० बजे सडकबाट ५० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सो भ्यान सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गरेर खाडिचौरतर्फ जाँदै गरेको थियो। दुर्घटनाको समयमा गाडीमा चालक मात्र सवार रहेको र उनी हालसम्म बेपत्ता रहेको बुझिएको छ।
घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि) सुरेशप्रसाद गुप्ताको कमाण्डमा चार जनाको टोली खटिएको छ। हाल खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






