काठमाडौँ ।

छानबिनको दायरामा रहेको काठमाडौँको पुरानो बसपार्कस्थित काठमाडौँ भ्यूटावरको नक्सा पास हठातमा स्वीकृत गरेपछि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईँ एकाएक चर्चामा आएका थिए । उनले छानबिनका कारण रोकिएको काठमाडौँ भ्यूटावरको नक्सा पास स्वीकृति गरिदिएको कागजात काठमाडौँ महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ९बालेन०समक्ष पुगेपछि हलचल मच्चिएको हो । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने काम पनि गरे । विगतदेखि नै आर्थिकरुपमा विवादित गुरागाईँको कर्तुत थाहा पाएका कारण मेयरसहित टोलीले शङ्का गरेको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पत्रकार सम्मेलन गरेरै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि कारबाही सिफारिस गर्ने घोषणा गरे । १२ तल्लाको नक्सा पास प्रक्रिया रोक्नुपर्नेमा १९ तल्लाको नक्सा पास स्वीकृत गरिदिएपछि काठमाडौँ उनीमाथि मेयर बालेनले एक्सन लिएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनकर्ताको कालोसूचीमा राखेका गुरागाईँलाई सङ्घीय सरकारले रहस्यमय ढङ्गले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो । सिराहाको प्रमुख जिल्ला अधिकारी हुँदा सुदिप शर्मा भन्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारी रूपमा पक्राउ गरी गैरकानुनी थुनामा राखी मानव अधिकारको उल्लङ्घन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा राष्ट्रिय मानव अधिकार आयोगले गुरागाईँलाई कारबाहीका लागि सिफारिस गरेको पाइन्छ । आयोगले सार्वजनिक गरेको कारबाहीका लागि सिफारिस गरिएका मानव अधिकार उल्लङ्घनका दोषीहरूको नामावलीको सूचीमा गुरागाईँको नाम पनि समावेश छ ।
एक त विभागीय कारबाही र मानव अधिकार उल्लङ्घनकर्ताको कालोसूचीमा परेका गुरागाईँलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउनु नै गलत थियो । अर्कोतिर उनले बदनियत पूर्वक ठेकेदारको पक्षमा निर्णय गरेर त्यहाँबाट भाग्न खोजेका थिए ।
समृद्धि आयोजनमा पनि गुरागाईँको असक्षमताका कारण मुलुकले बेहोर्नु परेको क्षतिको लेखाजोखा धेरै छ । व्यक्तिगत स्वार्थमा अख्तियारको दुरुपयोग गर्ने गुरागाईँमाथि छानबिन गरी दोषी देखिए हदैसम्मको कारबाही हुनुपर्ने आवाज धेरै उठेको थियो ।
अकुत आर्जन गरेका गुरागाईँको काठमाडौँको सम्पत्ति हेर्दा पनि त्यसको वैधतामा प्रश्न चिन्ह खडा हुन्छ । उनको श्रीमतीले टिकटकमा राखेका भिडियो र तस्बिर हेर्दा पनि पनि काठमाडौँ बसाई धेरै सभ्रान्त छ । मध्यवानेश्वर चोकमै आलिसान महल बनाएका गुरागाईँको जागिर अवधिमा आम्दानी हेर्दा वैध हुँदैन । त्यो बाहेक बस्ने घर अर्कै छ । एउटा मात्र होइन धेरै घर बनाएका उनी एमाले नेता तथा केपी ओलीको टिमका विष्णु रिमालको निकट रहेका गुरागाईँ दम्पतीले आर्जन गरेको सम्पत्तिले उनीहरूका आफन्तहरू पनि अचम्म मान्ने गरेका छन् । ०५१ पुस १३ मा निर्णय भएर पहिलो जागिर पुस १९ मा सुरु गरेका गुरागाईँ शाखा अधिकृतको रूपमा प्रवेश गरेका हुन् । विगतमा कमाऊ अड्डा मानिने सामान्य प्रशासन मन्त्रालयका कार्यालयहरूमा बसेर उनले अकुत आर्जन गरेका हुन् । ०७६ फागुन ३० मा सिराहा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका गुरागाईँले कमजोर अड्डा कहिल्यै बस्नु परेको छैन । कम्पनी रजिस्टार कार्यालय,कीर्तिपुर नगरपालिका जस्ता मालदार अड्डामा बस्दा पनि यिनी निक्कै विवादमा परेका कर्मचारी हुन् । जिल्ला विकास समिति बारा, धुलिखेल नगरपालिकामा पनि उनले मस्ती मारेका समकक्षीहरू बताउँछन् ।






