२२ को उमेरमा विद्यालय टेकेका भीमबहादुर पौडेलले पाँच वर्षमा बिएसम्मको अध्ययन गरे । तत्कालीन राम्चे तथा हालको बाह्रबिसे ९ मा जन्मिएका पौडेलले एसएलसी परीक्षा पास नै नगरी लामो समय शिक्षकको भूमिका निर्वाह गरे । शिक्षक भएकै बेलामा कसैको हौसलाले एसएलसी पास गरेको पाँच वर्षभित्रै बिएसम्मको अध्ययन गरेर सरकारी सेवामा लागे । लामो समयसम्म शिक्षण र सरकारी सेवामा लागेका पौडेलले हालै एउटा धार्मिक ग्रन्थलाई वजारमा ल्याएका छन् ।

श्रीमद्भागवतको नेपाली अनुकरणलाई सार संक्षेप बनाएर पुस्तककारुपमा बाहिर ल्याएका पौडेलले एउटा अक्षयकोषमार्फत सामाजिक कामको सुरुवात गरेका छन् । बाबुराम अधिकारी र रामप्रसाद जोशीले अनुवाद गरेको पुस्तक पढेपछि त्यसलाई अझ सरलीकृत गर्दै यो पुस्तक तयार गर्न प्रेरणा मिलेको पौडेलको भनाई छ । श्रीमद्भागवतमा भएका विभिन्न कथानक विषयलाई उपशीर्षक राखेर संक्षेपकरण गरिएको पुस्तक अहिलेको पुस्तालाई पनि उपयोगी हुने छ । २ सय ६० पेजमा रहेको सो पुस्तकले नेपालका साथै युरोप,अमेरिकाका युवा पाठकलाई आकर्षण गर्ने छ । आफ्ना छोराछोरी बिदेशमा भएका र उनीहरूलाई भेट्न जाँदा विदेश वाट यस्ता खाले पुस्तक भए पूर्वीय दर्शनका बारेमा जान्न सकिने प्रतिक्रिया आएका कारण आफू यो पुस्तक तयार गर्न लागिपरेको पौडेलको भनाइ छ ।

पौडेलेका दाजु पण्डित भएका कारण पनि उहाँको प्रेरणा पनि देखिन्छ । पण्डित पूर्णचन्द्र पौडेल सिन्धुपाल्चोक लगायतका क्षेत्रका नामी कथा वाचकका रूपमा परिचित हुनुहुन्थ्यो । आफू क्षेत्रीय भएकै कारण बालखमा संस्कृत पाठशालामा पढ्न नपाएको इखका रूपमा पनि यो पुस्तकलाई लिन सकिन्छ । किनभने त्यो बेलामा सहज विद्यालय नभएका कारण पाठशालामा गुरुहरूसँग पढ्न जानु पर्दथ्यो । तर, पौडेल क्षेत्रीय भएका कारण गुरुले नपढाएको प्रसङ्ग पनि लेखकले बताएका छन् ।
उमेर र शिक्षा नपुग्दै अरूलाई पढाएका,धेरै वर्ष शिक्षण पेशामा रहेको र लोकसेवा पास गरेर बिद्युत् क्षेत्रमा काम गरेको विभिन्न अनुभवले पनि पौडेललाई पुस्तक तयार गर्न थप ऊर्जा मिलेको देखिन्छ । त्यसो त पुस्तक बिक्री गरेर आएको रकम अक्षय कोष खडा गर्ने पवित्र इच्छाले पौडेलले समाजसेवामा थप योगदान गर्न लागेको प्रस्ट हुन्छ । पुस्तक विक्री मात्र होइन अन्य आर्थिक जोहो पनि गरेर पौडेलले अक्षयकोष वृद्धि गर्दै सामाजिक काममा लाग्ने सत्कर्म गर्नु साँच्चै महान् काम हो ।






