मेलम्ची ।

विजया दशमी २०८२ को पावन अवसरमा श्री बालसुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सदस्यता वितरण कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कृष्ण सुवेदी तथा विशेष अतिथि मेलम्ची नगरपालिका–७ का वडा अध्यक्ष पासाङ तामाङ थिए । लोकप्रिय गायिका सुशीला बन्जाडेको मनमोहक प्रस्तुति सहित कार्यक्रम उत्साहपूर्ण बनेको थियो।
कार्यक्रममा बुद्धिजीवी, पूर्व विद्यार्थी तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो। अतिथिलाई संस्थाका सचिव नवीन श्रेष्ठले स्वागत मन्तव्यसहित धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व विद्यार्थी एवम् युवा व्यवसायी समाजसेवी दिनेश गिरीले संस्थाका कार्यक्रम गुणात्मक र उपलब्धिमूलक रहेको भन्दै निरन्तर साथ र सहयोग रहने बताए । विशेष अतिथि वडा अध्यक्ष पासाङ तामाङले संस्थाले गर्ने हरेक सकारात्मक कार्यमा वडाको तर्फबाट सधैं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण भूतपूर्व विद्यार्थीलाई संस्थामा आवद्ध भई समाज तथा राष्ट्रिय निर्माणको अभियानमा जोडिन आग्रह गरे ।
त्यसैगरी प्रमुख अतिथि कृष्ण सुवेदीले संस्थाले पूर्वविद्यार्थीलाई एउटै मञ्चमा भेला गराउने प्रयास प्रशंसनीय भएको भन्दै यसमा अग्रज र नवयुवाहरुको संयुक्त सहभागिता सुनिश्चित गर्दै स्थानीय निकायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति प्रदिप पुरीले पूर्वविद्यार्थीहरुको साझा चौतारीका रूपमा संस्था स्थापित भइसकेको भन्दै सबै पुस्ताका विद्यार्थीलाई यसमा आवद्ध भई समाजसेवामा सक्रिय हुन आह्वान गरे ।
कार्यक्रममा उपस्थित अतिथि र वक्ताहरुद्वारा आगामी विजया दशमी, दीपावली, नेपाल संवत् ११४६, छठ पर्व तथा ल्होसारको शुभकामना आदानप्रदान गरिएको थियो। सो अवसरमा उल्लेख्य संख्यामा सदस्यता वितरण भएको जानकारी संस्थाका कोषाध्यक्ष नवीन गिरीले दिए ।
संस्थाका उपाध्यक्ष देवराज सुवेदीले सन्चालन गरेका थिए ।






