साँखु – कार्तिके भन्ज्याङ – सिपाघाट – ज्यामिरे माने – झ्याडी – चौतारा सडक काठमाडौँबाट सिन्धुपाल्चोक जिल्लाको सदरमुकामसम्म जाने महत्वपूर्ण र छोटो सडक हो । यो सडकको निर्माण सम्बन्धी प्रक्रिया २०७५/७६ सालबाट सुरु भएको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर निर्वाचन लडेका थियौँ । म सङ्घको उम्मेदवार थिएँ । युवराज दुलालजी प्रदेश (क) को उम्मेदवार हुनुहुन्थ्यो । हामी दुवैले जित्यौं । म संघको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनें । बागमती प्रदेशमा एमालेका नेता डोरमणि पौडेलको मुख्यमन्त्रीत्वमा सरकार बन्यो, प्रदेशमा मेरो अनन्य मित्र केशव स्थापितजी भौतिक पूर्वाधार मन्त्री हुनुभयो । युवराज दुलालजी सामाजिक विकास मन्त्री हुनुभयो । मैले यस क्षेत्रको प्रतिनिधिको हिसाबले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलजीलाई काठमाडौँ डाकेर यो सडकलाई प्रदेश गौरवको योजनाको रुपमा अगाडि बढाउन छलफल गरियो र उहाँले यो सडकलाई अगाडि बढाउने वचनबद्धता गर्नुभयो ।
त्यसैगरी मेरा मित्र भौतिक पूर्वाधार मन्त्री केशव स्थापितजी लाई पनि यो सडकको बारेमा निर्णय गर्न अनुरोध गरियो । तत्पश्चात २०७५/७६ को बजेटमा यो सडक प्रदेशको योजनामा समावेश भयो । २०७५ जेठ ३ गते एमाले र माओवादी पार्टी एकिकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो एमाले र माओवादी हामी एउटै पार्टीका भयौँ । हामी सबै खुसी भयौं । त्यसको केही पछि प्रदेशमा भौतिक पुर्वाधार मन्त्री केशव स्थापित हटेर मेरा अर्का अनन्य मित्र पार्टी केन्द्रीय कमिटीका सदस्य रामेश्वर फुँयाल प्रदेशको भौतिक पूर्वाधार मन्त्री नियुक्ति हुनुभयो । कमरेड रामेश्वर फुँयालले प्रदेशको भौतिक पूर्वाधारमन्त्रीको हैसियतले यो सडकको २०७६/७७ मा टेन्डर लगायतका प्राविधिक कामलाई अगाडि बढाएर सडक बनाउन टेन्डर गराउनुभयो ।
यो सडकको शिलन्यास कसरी गर्ने भन्ने सन्दर्भमा हाम्रो छलफल भयो । म त्यतिबेला सङ्घको मन्त्रिपदबाट हटिसकेको थिएँ । सङ्घको पूर्वमन्त्री प्रदेशको वर्तमान मन्त्रीभन्दा मर्यादाक्रममा माथि हुने भएकोले मैले नै शिलान्यास गर्ने कि भन्ने छलफल भयो तर हामी पार्टी एउटै भएको हुनाले र प्रदेशको बजेट भएको हुनाले प्रदेशको मन्त्रीले नै त्यसको सिलन्यास गर्दा राम्रो हुन्छ भन्ने निष्कर्ष निकाल्यौं ।
तत्पश्चात् प्रदेशको भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले देउराली भन्ज्याङभन्दा अलि माथि सिडिसिएफको कार्यालय अगाडि २०७७ असोज ४ गते यो सडकको शिलान्यास गर्नुभयो र प्रदेशको सामाजिक विकास मन्त्रीको हैसियतले युवराज दुलालजीले डोजरमा चढेर सडकको निर्माण शुभारम्भ भएको संकेत गर्नुभयो । हामी यस क्षेत्रका जनप्रतिनिधिहरू जो जुन पार्टीको भएपनि यो सडक निर्माण होस् भन्ने नै चाहन्छौं । माननीय युवराज दुलालजी प्रदेशमा लगातार लामो समय मन्त्री हुनुभएकोले यो सडकको केही श्रेय उहाँलाई जानु स्वभाविक पनि हो । तर हामीले यो सडकको बारेमा गरिएका महत्वपूर्ण पहल र निर्णयहरुलाई नजरअन्दाज गरेर प्रचार गरिनु गलत कुरा हो ।
यो सडकको निर्माण प्रारम्भ ७६ सालबाटै भएको तर आजसम्म लगातार हाम्रो पहल र प्रयत्नका बावजुद पनि निर्माण सम्पन्न हुन सकिरहेको छैन । तसर्थ मेरो यो निर्वाचनको जित पश्चात यो सडकलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने कुराको अगुवाई र नेतृत्व गर्ने प्रतिबद्धता तपाईँहरू समक्ष व्यक्त गर्न चाहन्छु । म स्पष्ट बोल्ने मान्छे हुँ । कथा यही हो यो सडकको । जनताले स्पष्टसँग बुझ्न जरुरी छ । हो कामहरू रातारात सम्पन्न हुँदैनन् तर हामी यसलाई छिटै सम्पन्न गर्ने कुरामा लाग्ने प्रतिबद्धता रहेको छ । मेरो जिल्ला र क्षेत्रको विकासको लागि पदमा रहुँ वा नरहुँ म सधैं जिल्लाको लागि लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।
यो सडकको हालको निर्माणको अवस्था चौतारादेखि झाडीसम्मको नौ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ । झ्याँडी – सिपाटार – गाईखर्क – ज्यामिरे माने – देउरालीसम्मको करिब ११ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । यस सडक खण्डमा बीचबीचमा केही ठाउँ कालोपत्रे भएको छ । देउराली – सिपाघाट खण्ड कालोपत्रे भइसकेको छ । यसैगरी कात्तिके भन्ज्याङ – सिपाघाट खण्ड काभ्रे पुर्वाधार कार्यालयले अहिले टेन्डर भएर कालोपत्रे गर्नको लागि काम भइरहेको छ । यो सडक निर्माण प्रारम्भदेखि हेर्दा जुन गतिमा छिटो निर्माण हुनुपर्ने हो त्यो अलि हुन नसकेको सत्य हो । तर अब निर्माणलाई तीव्रता दिएर यो सडक सम्पूर्ण रुपमा साँखु – सेपाघाट – चौतारासम्म कालोपत्रे गर्ने जिम्मेवारी हाम्रो हुनेछ हामी छिटो काम सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।






