मेलम्ची: मेलम्ची नगरपालिका को आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको चार दिने अभिमुखीकरण तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगरपालिकाकी उपप्रमुख उमा प्रधान को प्रमुख आतिथ्यता तथा मेलम्ची नगर उद्योग वाणिज्य संघ का अध्यक्ष पुष्कर प्रसाद धिताल को विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख प्रधानले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, अनुभव र क्षमतालाई स्थानीय स्तरमै उपयोग गर्दै आत्मनिर्भर बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नगरभित्रै रोजगारी सिर्जना गर्न विभिन्न सीपमूलक तालिम, उद्यम विकास कार्यक्रम तथा सहुलियतपूर्ण सहयोगमार्फत युवालाई स्वरोजगारतर्फ प्रेरित गरिने उल्लेख गर्नुभयो।
उहाँले विदेशिनुपर्ने बाध्यता कम गर्दै आफ्नै गाउँठाउँमा सम्भावना खोज्ने वातावरण निर्माण गर्न नगरपालिका निरन्तर लागिरहेको बताउँदै उद्यम गर्न चाहने नागरिकलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय सरकार सदैव तयार रहेको धारणा राख्नुभयो।
कार्यक्रमका विशेष अतिथि तथा नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र राज खरेल ले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूको सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकास गर्नु नगरपालिकाकोप्राथमिकता रहेको बताउनुभयो। उहाँले पशुपालन, कृषि फर्म तथा व्यापार–व्यवसाय सुरु गरेका सहभागीलाई आवश्यक प्राविधिक सहयोग, तालिम र सहजीकरणमार्फत साथ दिइने जानकारी दिनुभयो।
त्यस्तै, उद्योग वाणिज्य संघका अध्यक्ष धितालले स्थानीय उत्पादन, कृषि, पशुपालन, पर्यटन तथा साना उद्यममार्फत नगरभित्र प्रशस्त रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्न सके आर्थिक समृद्धिको आधार स्वदेशमै निर्माण हुने धारणा व्यक्त गर्दै युवालाई व्यवसायमा टिकाइराख्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
रोजगार शाखा प्रमुख रन्जन श्रेष्ठ ले कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बन्न प्रेरणा दिएको बताउनुभयो। उहाँले नगरपालिकाको यस्तो पहलले स्थानीय स्तरमा रोजगार सिर्जना गर्दै वैदेशिक पलायन कम गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा महिला वडा सदस्य तथा व्यवसायी प्रतिमा धिताल, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवास बानियाँ, महिला आत्मनिर्भरता केन्द्रका प्रतिनिधि कालिमाया वाईवा लगायतको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा सहभागी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले विदेशमा भोगेका कठिनाइ र समस्याबारे अनुभव साझा गरेका थिए । उनीहरूले पुनः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै ठाउँमा स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन् ।
सहभागीमध्ये कतिपयले पशुपालन, कृषि फर्म, साना व्यापारलगायत व्यवसाय सुरु गरिसकेको जानकारी दिँदै व्यवसाय विस्तारका लागि प्राविधिक सहयोग, सहुलियतपूर्ण ऋण, तालिम, बजार व्यवस्थापन तथा अनुदानमुखी कार्यक्रम आवश्यक रहेको बताएका छन् ।







