सिन्धुपाल्चोक, जेठ १४ — माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्त रूपमा सम्मान गरेको छ। जिल्लाभरिका उत्कृष्ट GPA हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।
कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। राष्ट्रिय समिति सदस्य मैया पौडेल विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रममा पालिकागत र जिल्लागत रूपमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार, मेडल, सम्मानपत्र र खादा प्रदान गरिएको थियो। साथै उत्कृष्ट नतिजा हासिल गरेका थप १६ जना विद्यार्थीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको लगनशीलता र अनुशासनले समाजलाई सकारात्मक दिशातर्फ लैजाने बताउनुभयो। नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन र सिर्जनशीलतामा जोड दिन आग्रह गर्नुभयो।
अभिभावकको तर्फबाट बोल्दै डम्बर रसिक भारतीले बालबालिकाको सफलतामा परिवारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। सम्मानित विद्यार्थीको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा पराजुलीले शिक्षक, अभिभावक र विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।
लेखनाथ भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







