काठमाडौं । सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा फरार रहेकी टिकटकर तुलसा अधिकारीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको हो । उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेकाले थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने तयारी गरिएको छ ।
प्रहरीले अधिकारीविरुद्ध जारी रेड नोटिसका आधारमा अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ। नेपालमा सामाजिक सञ्जालमार्फत चर्चामा रहेकी अधिकारी लामो समयदेखि फरार रहेको प्रहरी स्रोतको भनाइ छ ।
सरकारी वकिल कार्यालयले गत चैतमा अधिकारीसहित १० जनाविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। ललितपुरका एक व्यवसायीले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
जाहेरी अनुसार अधिकारीले व्यवसायीलाई गम्भीर फौजदारी मुद्दामा फसाइदिने धम्की दिँदै ठूलो रकम असुलेको आरोप छ। पीडित व्यवसायीले आफूबाट करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिइएको दाबी गरेका छन् ।
अधिकारी नेपाल ल्याइएसँगै बहुचर्चित उक्त मुद्दाको न्यायिक प्रक्रिया अब थप अगाडि बढ्ने अपेक्षा गरिएको छ ।







