चौतारा: चौतारा साँगाचोकगढी नगरपालिकाले नदीजन्य पदार्थबाट हुने राजस्व संकलनलाई प्रविधिसँग जोड्दै कागजी प्रक्रियालाई विस्थापित गर्ने अभियान थालेको छ । चालु आर्थिक वर्षदेखि नगरपालिकाले गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको राजस्व संकलन चारवटा संकलन केन्द्रबाट सूत्र प्रणाली मार्फत डिजिटल रूपमा सञ्चालन गर्न सुरु गरेको हो ।
डिजिटल प्रणाली प्रभावकारी बनाउन नगरपालिकाले सबै संकलन केन्द्रमा सीसीटीभी क्यामेरा, प्रिन्टर, इन्भर्टर र ब्याट्री जडान गरेको छ । यससँगै राजस्व संकलन, रसिद वितरण र कारोबारको अभिलेख अब डिजिटल माध्यमबाट हुने भएकाले पारदर्शिता र उत्तरदायित्व बढ्ने अपेक्षा गरिएको छ ।
नगर उपप्रमुख सीता थापाले प्रविधिमा आधारित सेवा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै डिजिटल प्रणालीले सेवाग्राहीलाई सहजता दिनुका साथै राजस्व व्यवस्थापनलाई थप पारदर्शी बनाउने बताइन् । उनका अनुसार यसले अनियमितता नियन्त्रण गर्दै स्थानीय सरकारप्रतिको जनविश्वास पनि मजबुत बनाउनेछ ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले अब प्रत्येक कारोबारको डिजिटल अभिलेख सुरक्षित रहने भएकाले राजस्व चुहावट रोक्न सहज हुने बताए । सीसीटीभी निगरानी, डिजिटल रसिद र वास्तविक समयमै अभिलेख रहने व्यवस्थाले संकलन प्रक्रियालाई अझ विश्वसनीय बनाउने उनको भनाइ छ ।
नगरपालिकाले नदीजन्य पदार्थको राजस्व संकलनबाट सुरु गरिएको डिजिटल अभियानलाई आगामी दिनमा अन्य सार्वजनिक सेवामा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ । स्थानीय सरकारलाई प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।







