काठमाडौं : काठमाडौंका होटल तथा रेस्टुरेन्टहरूमा खुला रूपमा हुक्का तथा चुरोट सेवन गराउने प्रचलन अब नियन्त्रणमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ लागू गर्ने संकेत दिएको छ ।
प्रशासनले हालै जारी गरेको सूचनामार्फत होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई धुम्रपानका लागि छुट्टै र व्यवस्थित स्थानको व्यवस्था गर्न निर्देशन दिएको हो । धुम्रपान नगर्ने ग्राहकहरू समेत धुवाँको असरमा परेको र कतिपय व्यवसायीहरूले कानुनी प्रावधानलाई बेवास्ता गरेको गुनासो बढेपछि प्रशासन सक्रिय बनेको जनाएको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ । त्यस्तो स्थान चारैतिरबाट बन्द हुनुपर्ने र त्यसबाट निस्कने धुवाँ अन्य ग्राहकसम्म नपुग्ने व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ ।
प्रशासनले अब होटल तथा रेस्टुरेन्टहरूको आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ । तोकिएको मापदण्ड पूरा नगरेको वा जथाभाबी धुम्रपान गराएको पाइए कानुनअनुसार अधिकतम कारबाही गरिने चेतावनी दिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा व्यवसायीहरूलाई सार्वजनिक स्वास्थ्यप्रति जिम्मेवार बन्दै कानुनको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।







