काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५८५ सवारी तथा चालकलाई कारबाही गरेको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश कुमार सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये ३४६ जना अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालक रहेका छन् । त्यसैगरी सिटिसी (प्रदूषण परीक्षण) सम्बन्धी ७०, रेड लाइट उल्लंघन गर्ने ५४, मापसे गर्ने ३३, तीव्र गति चलाउने २८, सवारीको अवस्था ठीक नभएका १३, हर्न दुरुपयोग गर्ने ११, लेन मिच्ने ११ तथा वान–वे उल्लंघन गर्ने ११ जना चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले उपत्यकामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिएको जनाएको छ। प्रवक्ता सुवेदीले ट्राफिक नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै नियम उल्लंघनले दुर्घटनाको जोखिम बढाउने भएकाले सचेत रहनुपर्ने बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक अनुशासन कायम गर्न आगामी दिनमा पनि विशेष अभियान, प्रविधिमार्फत निगरानी तथा जनचेतनामूलक कार्यक्रमलाई थप सशक्त बनाइने जनाएको छ ।







