काठमाडौं : सरकारी कार्यालय, स्थानीय तह, सहकारी संस्था तथा विद्यालयका छाप र दस्तखत किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२९ पुतलीसडकस्थित ‘प्यासन फाउन्डेसन कन्सल्टेन्सी’मा सरकारी छाप–दस्तखत किर्ते गरी नक्कली कागजात तयार पार्ने गरिएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले छापा मारेको थियो ।
प्रहरीले उक्त स्थानबाट विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छाप, ल्यापटप, छाप बनाउने सामग्रीलगायत बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला गाैरिगंज गाउँपालिका घर भई हाल ललितपुर बस्ने ३४ वर्षीय सन्दीप कार्की, अर्घखाँचि जिल्न्धिला सन्धिखर्क नगरपालिका–११ घर भई हाल बुढानीलकण्ठ बस्ने २५ वर्षीया संगीता मगर र नुवाकाेट जिल्ला बेलकोटगढी नगरपालिका–७ घर भई हाल गोँगबु बस्ने २० वर्षीया अंकिता नेपाल रहेका छन् ।
प्रहरीले उनीहरूविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ । बरामद सामग्रीको परीक्षण तथा नक्कली कागजात प्रयोग भएको हुनसक्ने अन्य घटनाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







