काठमाडौं : सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीको पोशाक खरिद प्रक्रियामाथि उठेको विवादले सांसद र प्रहरी नेतृत्वबीच तीखो वाक्युद्धको रूप लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले पोशाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेपछि कार्कीले असामान्य रूपमा कडा प्रतिक्रिया दिएका हुन् ।
समितिको बैठकमै कार्कीले आफूविरुद्ध प्रमाणबिनै आरोप लगाइएको भन्दै असन्तुष्टि जनाए । उनले प्रहरीलाई ‘घिसार्ने’ चेतावनी दिने प्रवृत्तिप्रति कटाक्ष गर्दै यस्तो अभिव्यक्तिले ‘पाषाणयुगीन मानसिकता’ को झल्को दिएको टिप्पणी गरे ।
“निष्ठापूर्वक काम गरिरहेको व्यक्तिलाई संसदीय समितिमा बोलाएर जे मन लाग्यो त्यही भन्नु उचित होइन,” कार्कीले भने, “कुनै पनि संस्थाको मर्यादा र संसदीय अभ्यासको सीमा हुन्छ ।”
आईजीपी कार्कीले अनुसन्धान र छानबिनका पक्षमा आफू रहेको स्पष्ट पार्दै उजुरी परेका विषयमा कानुनी र संस्थागत प्रक्रियाअनुसार छानबिन हुनुपर्ने बताए । तर सार्वजनिक मञ्चबाट व्यक्तिको प्रतिष्ठामाथि प्रहार गर्ने शैलीले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने उनको भनाइ थियो ।
बैठकमा कार्कीले गालीगलौज र आरोप लगाउन सजिलो भए पनि तथ्य र प्रक्रियाका आधारमा बहस हुनुपर्नेमा जोड दिए । उनले नेपाल प्रहरी कुनै राजनीतिक पक्ष वा प्रतिपक्ष नभई राज्यको सुरक्षा जिम्मेवारी बोकेको संस्था भएकाले त्यसको गरिमा जोगाउन सबै पक्ष संवेदनशील हुनुपर्ने बताए ।
प्रहरी खरिद प्रक्रियालाई लिएर उठेको प्रश्नसँगै समितिमा भएको यो चर्को संवाद अहिले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चाको विषय बनेको छ ।







