काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै प्रचण्डले राज्यले कानुनी विधि र प्रक्रिया मिचेर गरेको धरपकड लोकतन्त्रको उपहास भएको बताएका छन् ।
‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
उनले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यम र पत्रकारको स्वतन्त्रता सुनिश्चित हुनुपर्ने बताउँदै समाचारका विषयमा असहमति भए कानुनी तथा संवैधानिक बाटो अवलम्बन गर्नुपर्ने धारणा राखेका छन् ।
प्रचण्डले श्रेष्ठलाई तत्काल रिहा गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन्। पत्रकारमाथि हुने यस्ता कारबाहीले लोकतान्त्रिक अभ्यास र नागरिकको सूचनाको अधिकार कमजोर बनाउने उनको भनाइ छ ।







