काठमाडौं : सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
गत बुधबार पक्राउ परेका श्रेष्ठको रिहाइको माग गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त आदेश जारी गरेको हो ।
अदालतले पत्रकार श्रेष्ठको निवास, जनआस्था साप्ताहिकको कार्यालय तथा ललितपुरका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका सामग्रीसहित उनलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ । प्रहरीले बुधबार राति निवासबाट, बिहीबार बिहान झम्सीखेलस्थित जनआस्था कार्यालयबाट तथा बिहीबार साँझ बागडोल–नख्खु क्षेत्रबाट विभिन्न सामग्री नियन्त्रणमा लिएको थियो ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरेका थिए । बहसपछि अदालतले पक्राउ तथा बरामद गरिएका सामग्रीसम्बन्धी विवरणसहित श्रेष्ठलाई उपस्थित गराउन आदेश दिएको हो ।
पत्रकार श्रेष्ठको पक्राउप्रति विभिन्न सञ्चारकर्मी, प्रेस तथा मानवअधिकारसम्बद्ध संस्थाहरूले चासो व्यक्त गर्दै आएका छन् l।







