काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना तथा नगद लुटपाटलगायतका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई भक्तपुर ठिमी नगरपालिका–४ बस्ने ३६ वर्षीय मनोजकुमार मोक्तान र सोही स्थानका ३४ वर्षीय रोकेश थिङ रहेका छन् ।
प्रहरीका अनुसार गत असोज १२ गते राति करिब २१ः४५ बजे काठमाडौं महानगरपालिका–३२ जडीबुटी पुलमुनिको सडकखण्डमा सिन्धुली, मरिण गाउँपालिका–५ घर भएका २६ वर्षीय आयान माझी बा.प्र.०२–०२७ प ५७७३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
प्रहरी टोलीलाई देखेपछि माझीले भाग्ने क्रममा प्रहरीतर्फ धारिलो हतियार प्रहार गर्नुका साथै दुई राउन्ड हवाई फायरसमेत गरेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले तत्कालको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निजलाई नियन्त्रणमा लिन एक राउन्ड गोली प्रहार गरेको थियो ।
सो क्रममा लुटपाटमा प्रयोग भएको मोटरसाइकल, नम्बर प्लेट, खुकुरी र एक थान पेस्तोलसहित गोली बरामद भएको प्रहरीले जनाएको छ ।
माझीको बयान तथा अनुसन्धानका क्रममा लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका–४ बाट मोक्तान र थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले उनीहरूबाट घटनामा प्रयोग भएका कपडासमेत बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।








