काठमाडौ ।

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बुधबार शपथ ग्रहण लगत्तै मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नुभएको छ ।
राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री न्यौपानेलाई शपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि उहाँ साँझ सिहदरबार स्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नुभएको हो ।
मन्त्रीको रुपमा कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री न्यौपानेले तिनवटै तहको सरकारको नयाँ संगठन संरचना बनाउन आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्यदल बनाउने पहिलो निर्णय गर्नुभएको छ । कार्यभार सम्हाल्दै मन्त्री न्यौपानेले आफुले संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो । यसैगरी सेवा प्रवाह प्रभावकारी बनाउने र मुलुकमा सुशासन कायम गर्ने विषय पनि आफ्नो उच्च प्राथमिकतामा रहने उहाँले बताउनुभयो । नननियुक्त मन्त्री न्यौपानेले प्रशासनिक संघीयतालाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने र यसमा सबै पक्षको सहयोग र साथ आवश्यक पर्ने जनाउनुभयो । उहाँले सेवा प्रवाह प्रभावकारी बनाउने र सार्वजनिक प्रशासनको सवलीकरणमा आफु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।






