ल्हासा ।

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले आज चीनको सिजाङ स्वायत्त क्षेत्रको अध्यागमन कार्यालयका महानिर्देशक तथा चिनिया कम्युनिष्ट पार्टीका सचिव वाङ सिहोङसँग महावाणिज्यदूतावास कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा नेपाल र चीन बीच कायम ऐतिहासिक संबन्ध, दुई देश बीचका सीमा नाकालाई थप व्यवस्थित बनाउने र एक आपसको संबन्धलाई थप सुदृढ बनाउन दुबै पक्षबाट आगामी दिनमा थप पहल गर्ने विषयमा कुराकानी केन्द्रित भएको थियो ।
भेटमा महावाणिज्यदूत निरौलाले नेपाल र चीन बीचमा भौगोलिक सीमा मात्र जोडिएको नभई शताब्दीऔंदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध समेत स्थापित रहेको उल्लेख गर्दै महावाणिज्यदूतावास र अध्यागमन कार्यालयले त्यही मर्ममा आधारित रहेर काम गरिरहेको बताए । उनले सो अवसरमा रसुवागढी क्षेत्रमा असार २४ गते गएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल भत्काएको, दर्जनौंको ज्यान गएको, दर्जनौंलाई बाढीले बगाएर बेपत्ता पारेको, करोडौंको क्षति भएको दुखःद घटना संझंदै त्यसबाट पीडित भई चीनतर्फ अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गरी सुरक्षित बसोबासको ब्यवस्था मिलाएको, कैलाश मानसरोवर दर्शनमा गएर अलपत्र परेका नेपाली र विदेशी नागरिकहरुलाई तातोपानी झाङ्मु नाकाबाट नेपाल फिर्ता पठाई त्यसपछिको कैलाश यात्रा तातेपानी नाकाबाटै गर्ने व्यवस्था मिलाएको र सो नाका सञ्चालनका लागि विशेष चासोका साथ काम अगाडि बढाएकोमा चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सो घटनाबाट बेपत्ता भएका चिनियाँ नागरिकहरुको डिएनए प्रोफायल सहितको विवरण यथाशक्य चाँडो उपलब्ध गराइदिन अनुरोध गरेका थिए । साथै उनले आगामी दिनमा पनि चीन सरकारबाट अझ बढी सहयोगको अपेक्षा गरेका थिए ।
उक्त अवसरमा महानिर्देशक सिहोङले सिजाङको अध्यागमन कार्यालय र महावाणिज्यदूतावास बीचको समन्वयमा वर्षौदेखि विभिन्न कार्यहरु भइरहेका छन् भन्दै आगामी दिनमा यसलाई थप बलियो बनाउने बताए । उनले हालसम्म महावाणिज्यदूतावासका तर्फबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै मितेरी पुलको निर्माण कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न हरसम्भव प्रयास गरिने बताएका थिए । सो अवसरमा उनले नेपाल र चीन कुटनैतिक संबन्ध स्थापना भएको ७० औं वर्षका उपलक्ष्यमा यस वर्ष सांस्कृतिक आदानप्रदान सहित विशेष कार्यक्रमहरु आयोजना गरिने बताए ।
भेटघाटले नेपाल चीन संबन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने भन्दै महावाणिज्यदूत निरौला र महानिर्देशक सिहोङले आगामी दिनमा यस प्रकारका भेटघाटहरु निरन्तर जारी राख्ने बताउँदै सीमा नाका व्यवस्थापन, एक आपसका सुरक्षा चासो, भन्सार र अध्यागमनका साझा चुनौतिहरुको दुई पक्षको संयुक्त र समन्वयात्मक प्रयासमा सामना गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।






