काठमाडौँ ।

भर्खरै नियुक्ति भएकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी कामको गुनासो सुनुवाइ संयन्त्र निर्माण गर्न मन्त्रालयका निर्देशन दिएकी छन् ।
सचिव र सहसचिवहरूसँग बैठक गरेर मन्त्री न्यौपानेले कर्मचारीहरूको सरुवा, पदस्थापना तथा काज सरुवालाई निष्पक्ष, पारदर्शी तथा वस्तुगत बनाउनकोलागि यस अघि मन्त्रालयले तयार गरेको मापदण्डलाई समयानुकूल परिमार्जन गरी राय सुझाव पेश गर्न भनेकी छन् । कर्मचारी टेड युनियन र बिचौलिया हावी हुँदा सरुवा व्यवस्थापन भएको छैन । आफ्नो सचिवालयअन्तर्गत रहने गरी राख्न लागिएको गुनासो सुनुवाइ संयन्त्रमा देशभरका कर्मचारीले गुनासा राख्न सक्ने व्यवस्था मिलाइने मन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त मापदण्ड परिमार्जनपश्चात मात्र कर्मचारीहरूको सरुवासम्बन्धी काम हुने उनको भनाइ छ । कर्मचारी सरुवालाई पूर्वअनुमानयोग्य बनाउन पनि उनको निर्देशन छ ।






