काठमाडौँ ।

अहिले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका प्रमुख छन्, प्रेमकुमार राई । बिगतमा बिभिन्न मन्त्रालयको सचिव थिए । पर्यटन मन्त्रालयमा सचिव हुँदा उनले गरेको कामका बिषयमा प्रश्न उठेको छ । यो बिषयमा बिशेष अदालतमा मुद्धा दर्ता भएको तर, तत्कालिन सचिव तथा हालका अख्तियार प्रमुखको नाम नै छुटाइएको भन्दै विशेष अदालतले वाइडबडी विमान खरिदको भ्रष्टाचार मुद्दामा चयनमुखी अभियोजन (सेलेक्टिभ प्रोसिक्युसन ) भएको भनी अख्तियारको काम कारबाहीमाथि टिप्पणी गर्यो । गत मंसिरमा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै विशेष अदालतले हाल अख्तियार प्रमुख रहेका तत्कालीन सचिव प्रेमकुमार राई नेतृत्वको समितिले नै विमान खरिदको निर्णय गरेको र त्यस क्रममा कुनै प्रश्न नउठेको भनी अनुसन्धानमा प्रश्न उठाएको हो ।
आफ्नो २३ वर्ष लामो इतिहासमा विशेष अदालतले अख्तियार र पदाधिकारीहरूको काम(कारबाहीमाथि कैयौं पटक प्रश्न गरिसकेको छ । तिमीमाथि नै ‘किन अनुसन्धान र अभियोजन नभएको ? ’ भनी प्रश्न उठाएको यो पहिलो घटना हो ।
हुन त आफैंले गरेको निर्णयबाट भएको भ्रष्टाचारमा प्रेमकुमार राईले आफैं नेतृत्वको अख्तियारबाट अनुसन्धान अघि बढाएका थिए । ‘स्वार्थको द्वन्द्व’ हुने घटनामा न उनले आफूलाई अनुसन्धानबाट अलग गरे, न अनुसन्धानमा तटस्थताको भूमिका खेल्न सके । यतिसम्म कि, आफ्नै निर्णय अघि बढाउँदा भएको भ्रष्टाचार मुद्दा अघि बढाउन उनी आफैंले नेतृत्व गरेका थिए ।
यही प्रवृत्तिमाथि प्रश्न गर्दै विशेष अदालतले अख्तियार प्रमुख राईमाथि नै किन भ्रष्टाचारको अभियोगमा अनुसन्धान भएन भनी प्रश्न गरेको हो ।






