काठमाडौँ ।

एसपी विमल बस्नेतले एसएसपी पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी गरेका छन् । सिफारिसविरुद्ध प्रहरी नियमावली दफा ४२ अनुसार उजुरी दिएको दावी छ ।
गत ५ साउनमा बसेको बढुवा समितिको बैठकले ११ एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको थियो । बरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका एसपी बस्नेत सिफारिसमा छुटेका थिए । यसअघि पनि पटक–पटक बढुवामा छुटेका बस्नेतले यसपटक नपरेपछि उजुरी गरेका हुन् ।
बस्नेतका ब्याचका प्रहरी अधिकृतहरु हाल एआइजी भइसकेका छन् । एसएसपी बढुवामा लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा बढुवा उपर उजुरी सुन्ने समितिको निर्णय गर्ने प्रावधान प्रहरी नियमावलीमा छ ।
जसमा मुख्यसचिव र कानूनसचिव सदस्य रहनेछन् । अब सो समितिले उजुरी फस्र्यौट गरेपछि मात्र एसएसपी बढुवाको टुंगो लाग्ने भएको छ ।
एसएसपीको बढुवा रोकिएपछि एसपी र डिएसपीको बढुवा समेत प्रभावित हुने भएको छ । ५ साउनमा ११ डिएसपीलाई एसपी तथा १३ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको थियो ।
प्रहरीमा यसरी पटक पटक अन्याय भईरहेको छ । तर, पनि रोलक्रम मिचिने क्रम टुटेको छैन ।






